पहाडी जिल्ला भएपनि पाल्पा पश्चिमाञ्चलको सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान रहेकोछ । ऐतिहासिक र सास्कृतिक धरोहरको रुपमा समेत पाल्पा रहेकोछ । शिक्षा ,स्वास्थ्य र पर्यटनमा नेपालकै नमूना जिल्ला बन्ने लक्ष्य वोकेको मात्र होईन, मुलुकको समग्र विकासमा आफनो भूमिका अन्य जिल्लाको भन्दा पृथक र अहम हुनुपर्छ भन्ने कुरामा समेत प्रतिवद्ध देखिन्छ । यहाको प्राकृतिक सम्पदामा मात्रै आकर्षण रहेको होईन की सास्कृतिक , धार्मिक र एतिहासिक पक्षहरुमा पनि त्यत्तिकै आकर्षण रहेको पाइन्छ । मुलुक सञ्चालनका लागि आवश्यक जनशक्तिको अधिकाशं हिस्सा पाल्पालेनै पुरागर्न सक्षम भएको पक्षले झनै गौर्वान्वित बनाएकोछ । नेपाल निर्माण देखि सञ्चालन सम्म पाल्पाको एतिहासिक महत्व र गरिमा रहेकोछ ।

सामुदायिक बन विकास, अदुवा र नेपाली कफी उत्पादनमा अग्रीणी जिल्ला, हस्तसिल्पमा नेपाली ढाका कपडा र करुवाको उत्पादनमा राष्ट्रिय अन्तराष्ट्रिय ख्याति कमाएको मात्रै होईन, सजिवनवाट डिजल उत्पादनगरी पहिलो पटक त्यसको प्रयोगवाट पाल्पा देखि काडमाण्डौ सम्म सफलतापूर्वक गाडी चलाएर देखाउने जिल्ला पनि पाल्पानै हो ।

१३६६ वर्ग किमी क्षेत्रफल र ३ लाख बढी जनसख्या रहेको पाल्पा अक्षासं २७° ३४″ देखि २७°५७″  सम्म र देशान्तर ८३°१५″ देखि ८४° २२″ सम्म  र समुन्द्र सतहवाट १५२ मिटर देखि १९३६ मिटर सम्म उचाईमा रहेको जिल्लाहो । लुम्विनि अञ्चलको केन्द्रमा पर्ने यो जिल्ला गौतम बुद्धको जन्म स्थल र मावलीको नजिक पर्छ । यसको पुर्वमा नवलपरासी, पश्चिममा अर्घाखाची र गुल्मी, उत्तरमा स्याञ्जा र दक्षिणमा रुपन्देही र नवलपरासी जिल्ला संग सिमाना जोडिएकोछ । अधिकतम ३२°र न्यूनतम ४° सम्म तापक्रम रहने यो जिल्लामा वाषिर्क औषत १९०३ मिलीमिटर पानी पर्दछ ।

मगर समूदायको बाहुल्यता रहेको यो जिल्लामा ब्राहमण,क्षेत्री, नेवार, विक, नेपाली,कुमाल,दर्जी,ठकुरी र केही अन्य जातीहरुको सद्भावयुक्त वसोवास रहेकोछ ।  ९८.८० प्रतिशत हिन्दु धर्मावलम्वी रहेको यो जिल्लामा बौद्ध, मुस्लिम धर्म अवलम्वन गर्दछन् । नदीनाला,ताल पोखरी,लेक पहाड,गढी किल्ला , गुफा , सुरुङ ,मठमन्दिर , देवस्थल, मेला जात्रा, रमणीय स्थल सवैको संगम स्थल पाल्पा हो । तानसेन यसको मुख्य बजार र सदरमुकाम हो । पर्यटकिय दृष्टिले समेत अत्यन्त महत्वपूर्ण जिल्ला हो पाल्पा । पाल्पा काठमाण्डौ वाट ३०६ किमी, पोखरावाट ११८ र लुम्विनिवाट ८५ किमी दुरी रहेकोछ ।