पर्यटकिय आँखी झ्यालबाट हेर्दा पवित्र कृष्णगण्डकीको काखमा अवस्थित रामपुर उपत्यका पूर्वी पाल्पाको एक विशिष्ठ पहिचान,असिम सम्भावना एंव अथाह महत्व बोकेको एउटा भू–स्वर्ग नै हो।त्रेतायुगका मर्यादापुरुष श्री रामको नामबाट परिचित रामपुर बास्तवमा नै अत्यन्त सुन्दर स्थान मध्य एक हो । यो उपत्यकालाई हेर्दा, काठमाडौँ र पोखरा पछि सुन्दर, रमणीय, समथर र विशाल नदीको काखमा अवस्थित र छेउछाउमा मनोरम पहाडी भू–भागले घेरिएर रहेको मनोरम भू–स्थलको रुपमा चिनाउन सकिन्छ । नेपालको प्रदेश नं ५ को रमणिय जिल्लाकोरुपमा परिचित पाल्पा जिल्लाको पूर्वमा अवस्थित रामपुर उपत्यका पाल्पाको सदरमुकाम तानसेन देखि ६५ किलोमिटर पूर्व,सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ्गबाट ४७ कि.मि पूर्वमा पर्दछ। रामपुरको पूर्वमा पाल्पाकै निस्दी गाँउपालिकाको वडा नं १ बाँकामलाङ्ग, उत्तरमा कालीगण्डकी, पश्चिममा रम्भादेवी गाँउपालिको हुँगी र दक्षिण तर्फ निस्दी गाँउपालिकाको वडा नं ५ को गल्धा र पूर्वखोला गाँउपालिकाको वडा नं १ सिलुवा रहेको छ । रामपुरको पूर्वमा नवलपूर जिल्ला –नेपालको ७७ औ जिल्ला), उत्तरपूर्वमा तनहुँ,उत्तरमा स्याङ्गजा पर्दछ । २०७१ साल बैशाख २५ गते नगरपालिका घोषणा हुदाँ साविकका
गौडाकोट,दर्छा,रामपुर,खालीवन र गेझा गा.वि.स.लाई समाविष्ट गराइएको थियो ।
रामपुरमा २०६८ जनगणना अनुसार ३५,३९६ जनसंख्या रहेका छन् भने ४,१३४ घरधुरी रहेका छन्। रामपुर नगरपालिका करिब १२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । रामपुरनगरपालिकालाई बहुजाती, बहुभाषी, बहुधार्मिक र बहु साँस्कृतिक विविधताले सिंगारिएको भूमि हो भन्दा कुनै अतिसयोक्ति नहोला । हिन्दु धर्म मान्नेहरुको बाहुल्यता यस नगरपालिकामा रहेको भएता पनि यहाँ क्रिश्चियन,इश्लाम र बौद्ध धर्मालम्बीहरुको पनि बसोबास रहदै आएको छ। 
रामपुरमा विहान मन्दिरबाट निस्कने घन्टीको आवाज संगै मस्जिदमा गरिएको अल्लाहको प्राथनाले अबेरसम्म निदाउन दिदैन ।धार्मिक पवित्रताको ध्वनीहरुले मनलाई आन्नदित तुल्याउदछ। चर्चमा यशुको प्राथना र बौद्ध गुम्बामा गुन्जिने ओम माने पेमे होम जस्ता आवाजले रामपुरलाई गुन्जायमान बनाँउदछ । यसप्रकारको धार्मिक विविधताले यस पवित्र भूमिलाई सिंगारेको छ।
जातीगत विविधताको नजरले नियाल्दा ब्राम्मण, क्षेत्री, ठकुरी, योगी, पुरी, सन्यासी, मगर, नेवार, कुमाल, बोटे, दराई, घर्ति, मुस्लिम, सार्की, दमाई, कामी आदी जातीको बसोबास रहदै आएको पाइन्छ । नगरपालिकाको पहाडी भेगमा पहिले बाहुन, मगर र तल्लो भु–भागमा कुमाल, बोटे, दराई जाती रहेको भएता पनि हाल भने माथिल्लो भू–भागमा मगर जातीको बाहुल्यता छ भने तल्लो भु–भागमा ब्राम्मण जातीको बसोबास बढी भएको देख्न सकिन्छ ।
यस सुन्दर नगरीमा विविध सांस्कृतिक विविधता पनि विध्यमान रहेको छ । हिन्दु धर्मको संस्कृतिको बालन नाट्यकला संस्कृति, भजन, किर्तन, चुड्का, ख्याली, रोईला जस्ता संस्कृत ब्राम्मण जातीले मनाउदै आएका छन् ।मगर, गुरुङ्ग समुदायको सोरठी, कौरा, झ्याउरे र घाटु नाँच जस्ता परम्परा र संस्कृति पनि यहाँ पाइन्छ । नेवार जातीको मौलिक नाँच, लाखे नाँच पनि यहाँ नाचिन्छ। यसका अलावा रामपुरको बेझाड र विभिन्न वडा तथा वस्तीमा बसोबास गर्दै आइरहेका इस्लाम धर्मालम्बीहरुको आफ्नो छुट्टै धर्म संस्कृतिले पनि रामपुरलाई शोभायमान बनाउन मद्धत पुर्याउदै भएको छ ।
बौद्ध धर्मालम्बीहरुको पनि रामपुरमा बसोबास छ जसले बौद्ध धर्म र संस्कृतिलाई यसस्थानमा स्थापित गरेको छ। रामपुरको तिलकपुरमा रहेको चर्चले यस नगरीमा क्रिश्चियनको अस्तित्वलाई स्वीकार गर्दछ ।
यसरी सबै धर्मालम्बीहरुको संगमस्थल रहेको तथ्यले के प्रमाणित गर्दछ भने रामपुरमा धार्मिक सहिष्णुता विद्यमान छ र सांस्कृतिक सौन्दर्यताले यस नगरीलाई अझ मोहक बनाएको छ । भगवान श्री रामको नाम सङ्ग जोडिएको यस नगरमा मर्यादा पुरुषोत्तम रामले त्रेता युगमा विचरण गरेको मानिन्छ। जस्तो नाम तेस्तै ठाँउ भने जस्तै यो स्थल अत्यन्त रमणिय र अलौकिक रहेको छ। पवित्र कृष्णगण्डकीको काखमा अवस्थित रामपुरमा जुनसुकै स्थानमा गएता पनि अथाह प्राकृतिक स्रोत साधन र मानवीय स्रोतका कारण पनि यो भूमि उर्वर छ । परापूर्वकालमा नुन र सुनको पैदल मार्गको रुपमा प्रयोग गरिने स्थलको रुपमा रामपुर रहेको विश्वास गर्न सकिन्छ।
कालीगण्डकीको काखमा अवस्थित रामपुर नामले नै धार्मिक महत्व बोकेको स्थलको रुपमा प्रख्यात छ । रामघाट, रामचुलो, राम मन्दिर, रामचेतन,रामकुवा, कोइलाटारी, सीताकुण्ड आदि भगवान राम सँङ्ग सम्वन्धित धार्मिक स्थल रामपुरमा छन् भने कष्णगण्डकीको किनार र यसका आसपासमा रहेका धार्मिकस्थलहरुले गर्दा यस भूमि अझै पावन र पवित्र बनाउन मद्धत गरेको छ। रामपुरमा रहेको शिवालय मन्दिर, लक्ष्मी नारायण मन्दिर, चतुरभुज लक्ष्मी नारायणको मन्दिर,कालिका देवी मन्दिर जस्ता मन्दिरले पनि रामपुरको धार्मिक महत्व बढाउन मद्धत गरेको छ । पवित्र कृष्णगण्डकीका मुख्य मुख्य धार्मिक महत्वको स्थलको रुपमा विभिन्न स्थानलाई वर्गीकरण गर्न सकिन्छ । पहिलो मुक्तीनाथ क्षेत्र, दोस्रो रुद्रवेणी, तेस्रो देवघाट, चौथो त्रिवेणी, पाँचौ हरिहर क्षेत्र तत्पश्चात रहस्यमयी स्थानको रुपमा रामपुरलाई लिन सकिन्छ किनकी रामपुर क्षेत्रक रामघाटमा काली र सेती गण्डकीको गुप्त भेट भएको छ र भीमाध नाम गरेको क्षेत्र सेती नदीको किनारमा छ। नदीहरुमा श्रेष्ठ गण्डकी बगेकी हुनाले सिता सहित भगवान रामचन्द्र गण्डकीका तिरैतिर यहाँ आए उनैका भ्रमण र बसोबासले यो रमणीय स्थान रामपुर बन्न पुग्यो । रामपुरमा पितृकर्म, देवकर्म गर्नेवाला मनुष्य विष्णुलोकमा जान्छ। कार्तिक महिनामा पुजाआजा गर्छ भने करोड जन्मको पाप नाश भएर ब्रम्हपुरीमा गएर बस्न पाउछ। बैशाखमा रामपुरमा वर्त गर्छ भने करोड कल्पसम्म बैकुण्ठ बास हुन्छ।
माघमा रामपुरमा बसेर स्नान आदी कर्म गर्छ भने स्वर्गमा बस्ने ब्रम्हाजीको जति आयु हुनेछ। रामपुरमा एउटा गाई दान गर्नाले हजार गाई दान गरेको फल मिल्छ भन्ने जस्ता रामपुरको धार्मिक महत्वका विषयमा “चतुर्थ अध्यायरपरिशिष्टरहिमम्वतखण्ड पेज नं ९२र९३ मा गण्डकी महात्मय काशिराम रचिते पारकोटे क्षेत्र माहात्म्यमा वर्णन गरिएको छ। रामपुर नगर कला,धर्म,संस्कृतिको अनुपम सौन्दर्यमा समाहित हुदै रमणीयस्थलको रुपमा पनि परिचित छ । उपत्यकाको विचबाट बगेको कृष्णगण्डकीले यस स्थानलाई अझ अलौकिक बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ । पर्यटकीय नगरी पोखराबाट सिधा दक्षिण ४० किलोमिटर टाढा पर्ने रामपुरलाई पोखरा र गौतम बुद्धको जन्मभुमी लुम्बिनी बिचको भू–भागको रुपमा हेर्न सकिन्छ र पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिन्छ। यहाँको हावापानी, वातावरण, उत्तरी क्षेत्रमा देखिने माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, धार्मिकस्थलहरु, ताल तलैया, विभिन्न कला संस्कृति जस्ता पक्षले रामपुरलाई पर्यटकिय हिसाबले पनि अग्रस्थानमा राख्न सकिन्छ। रमणीय स्थलहरु निस्दी गाँउपालिकाको मित्याल, झ्याल्टुङ्ग डाँडा, झिरुवासको काउले बन, खालीबनको लेक लगायतका स्थानले जो कोहीको मनलाई पनि आन्नदित तुल्याउदछ । यसरी अथाह कला संस्कृति, धर्म, इतिहास र आफैमा वैभव बोकेको रामपुर नगरी हाल भने विकासको पर्खाइमा उभिएर रहेको छ । अनुपम सौन्दर्यले भरिपूर्ण यो स्थलसम्म पुग्नका लागि अझै पनि कच्ची बाटो प्रयोग गर्नु पर्दछ । पोखरा विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा यहाँ विमानस्थल निर्माण गर्ने सम्भावना भएता पनि यसको लागि आवश्यक पहल हुन सकेको छैन । विकास र समृद्धिका सम्भावना अध्ययनका लागि यो क्षेत्रलाई प्राथमिकतामा राख्न सकिएको छैन। चार जिल्लाको छेउक एउटा उपत्यका आफ्नो अथाह सम्भावनाको पहिचानलाई लुकाएर बसेको प्रतित हुन्छ । रामपुर उपत्यका अथाह सम्भावना बोकेर विकास समृद्धिका लागि व्याकुल रहेको छ । खानेपानी, विद्युत, मोटरबाटो –अधिकांश स्थानमा कच्ची रहेको जस्ता विविध भौतिक पूर्वाधारको पर्याप्त मात्रामा उपलब्धता नहुदाँ यो सहर विकासको पर्खाइमा रहेको छ।
बढ्दो सहरीकरण, सम्भावना बोकेका मानिसहरुको बसाइसराई, आवागमनमा रहेको समस्या, जस्ता यावत समस्याले गर्दा रामपुर उपत्यकामा जुन ढंङ्गको विकास हुनु पर्दथ्यो सो अनुरुपको विकास र सुगमता नदेखिदा यहाँको असिमित सम्भावना यसै खेर गएको आभास हुन्छ । स्वार्थको भावना त्यागेर, रामपुरका राजनीतिकर्मी, बुद्धिजीवि, व्यवसायी, जनता लगायत सम्पूर्ण व्यक्तित्व वर्गले दत्तचित्त भइ लागेमा र सम्पूर्ण सम्भावनाहरुलाई अंगालेर अगाडी बढेमा रामपुरको भविष्य उज्वल रहने र धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक र पर्यटकिय स्थलको रुपमा यो नगर स्थापित हुनेमा कुनै द्धिविधा नहोला ।