काठमाडौँ । पाल्पाली संगमको अन्तर्राष्ट्रिय समन्वय संयोजकमा अमेरिकमा रहनु भएका पत्रकार सतिश चापागाई मनोनित हुनुभएको छ । 
 
विभिन्न देशमा रहेका पाल्पालीहरुलाई देश अनुसार संगठित गर्दै विश्वभरका पाल्पालीहरुलाई एउटै सञ्जालमा जोड्ने प्रयास स्वरुप उहाँलाई संयोजक तोकिएको संगमले जनाएको छ । 
 
आपसी सहयोग र पाल्पाको विकासका लागि समन्वयकारी भूमिका खेल्न संगमलाई विश्वव्यापी बनाउने वर्तमान कार्यसमितिको परिकल्पना अनुसार उहाँलाई संयोजकमा नियुक्त गरिएको अध्यक्ष पदम न्यौपानेले जानकारी दिनुभयो । 
 
न्यौपानेले चापागाईलाई दिनुभएको मनोनयन पत्रमा अधिकभन्दा अधिक देशमा पाल्पाली संगमको संगठन विस्तार गर्न सफलता मिल्ने विश्वास व्यक्त गरिएको छ ।
 
पाल्पाको रामपुर नगरपालिका वडा नं. १० का स्थायी बासिन्दा चापागाई अहिले अमेरिकामा सपरिवार बसोबास गर्दै आउनुभएको छ । 
 
उहाँ गैह्रआवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सञ्चार संयोजक समेत हुनुहुन्छ भने नेपाली डायस्पोरा नामक अनलाईन र जोगसंजोग नाम चर्चित अनलाईन टिभी कार्यक्रम पनि चलाउदै आउनुभएको छ । 
 
संगमको केही दिन पहिले बसेको बैठकले विभिन्न देशहरुमा रहेका पाल्पालीहरुलाई संगठित गर्ने, पाल्पाली संगमको सम्पर्कमा ल्याउने, विदेशमा पाल्पाली संगमको शुभेच्छुक पाल्पाली संस्थाहरु गठन गर्ने तथा स्थापना भइसकेका पाल्पाली संस्थाहरुको सवलीकरण गर्ने कामका चापागाईलाई अन्तर्राष्ट्रिय समन्वय संयोजकमा मनोनयन गर्ने निर्णय गरेको संगमका महासचिव विष्णु खत्रीले जानकारी दिनुभयो । 
 
बैठकले पाल्पाली संगमको वेभसाइटलाई व्यवस्थीत गरेकोमा सचिव तथा वेभसाईट समिति संयोजक जीवन भण्डारीलाई धन्यवाद दिदै प्रकाशन योग्य सामग्रीहरु सवैले संकलन गर्ने निर्णय पनि गरेको थियो । 
 
त्यसैगरी पाल्पाली बहुआयामीक व्यक्तित्व स्व. विनय कसजु स्मृति कोषलाई विधान बनाएर दर्ता गर्न संगमका अध्यक्ष पदम न्यौपाने र सचिव जीवन भण्डारीलाई जिम्मेवारी दिने निर्णय संगमले गरेको छ । 
 
संगमको स्थापना दिवसमा प्रकाशन गर्ने निर्णय गरिएको पाल्पा दर्पण आगामी दशै तिहारको अवसरमा प्रकाशन गर्नेगरी तयारी गर्ने निर्णय पनि गरिएको छ । 
 
बैठकमा लकडाउनको बेलामा काठमाडौंमा रहेका १६ परिवारलाई राहत वितरण, पाल्पामा अप्ठ्यारोमा परेका श्रमिकहरुको दुई समुहलाई उद्धार, पाल्पा र पाल्पालीसँग सम्वन्धित सुचनाहरुको संप्रेषण, भर्चुअल कवि गोष्ठी, वेभसाइटको अपडेट, रेडियो मदनपोखरासँगको साझेदारीमा कोरोनासम्वन्धि सचेतनामुलक सूचना प्रशारणलगायतका कार्यहरु गरिएको जानकारी दिइएको थियो । 
 
विभिन्न पेशा व्यवसाय र अध्ययनका लागि काठमाडौमा रहेका पाल्पालीहरुले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटवाट शुरु गरेर २०३८ सालमा संगमको गठन गरेका थिए । यसले आफनो प्रकाशनको रुपमा २०३९ साल देखिनै पाल्पा दर्पण प्रकाशन गर्दै आएको छ । विक्रम संवत् २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत दर्ता भएको संगम पाल्पाभन्दा बाहिर रहेका पाल्पालीहरुको सवैभन्दा पुरानो र सवैभन्दा ठुलो संस्था मानिन्छ ।