विसं. २००१ सालमा पाल्पाको हुँगी गाउँमा जन्मिएका हरिहरदेव पन्त त्यसबेलाको चलन अनुसार १२ वर्षको उमेरमा बिवाह बन्धनमा बाँधिए । सम्पन्न भैरवदेव पन्तले छोरा हरिहरदेवको शिक्षादीक्षाका लागि घरमै एकजना भारतीय शिक्षक राखिदिएका थिए । कक्षा ७ र ८ पढ्न उनलाई पाल्पाको तानसेन पठाइयो । त्यसपछि भने पन्त परिवार नै काठमाडौं सर्यो ।

२०१२ सालमा काठमाडौं आएका पन्त पद्मोदय हाइस्कूलबाट २०१४ सालमा एसएलसी उत्तीर्ण गरेर आईएस्सी पढ्न त्रिचन्द्र कलेज भर्ना भए । त्यसपछि नेशनल कलेजबाट अर्थशास्त्रमा स्नातक, त्रिभुवन विश्वविद्यालय क्याम्पसबाट स्नात्तकोत्तर र भारतको युनिभर्सिटी अफ मुम्बईबाट विद्यावारिधि गरे । उनी मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गर्ने पहिलो नेपाली थिए ।

डा. पन्त सन् १९९१ देखि २०१५ सम्म निर्धन संस्था र २००७ देखि २०११ सम्म निर्धन उत्थान बैंकको अध्यक्ष रहे । त्यस्तै, सन् १९९३ देखि १९९५ सम्म सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंक र पूर्वाञ्चल ग्रामिण विकास बैंकको संस्थापक अध्यक्ष भएका उनले रुरल सेल्फ डेभलपमेन्ट फण्ड अध्यक्षमा जिम्मेवारी समेत बहन गरे ।

डा. पन्त नेपालको पहिलो ज्वाइन्ट भेञ्चर नविल बैंक (तत्कालीन नेपाल अरब बैंक), सरकारको बहुमत सेयर रहेको कृषि विकास बैंक, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र एग्रिकल्चर प्रोजेक्ट सर्भिसेज सेन्टरको समेत सञ्चालक रहे ।

विभिन्न सामाजिक संघ संस्था, मठमन्दिर लगायतको संरक्षक, कार्य समिति पदाधीकारीको रुपमा समेत थुप्रै काम गरेका डा. पन्त पाल्पाली संगमका संस्थापक समेत हुन् ।

सामाजिक क्षेत्रमा क्रियाशिल भएकै बेला अरुको सेवामा जीवन बिताउने गरीबहरुको कसरी होला त उत्थान भन्ने प्रश्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर भएका बेला डा. पन्तको मनमा खेलिरह्यो । जागिरको क्रममा देश विदेशमा काम गरेका उनले केन्द्रीय बैंकको माथिल्लो ओहदामा रहँदा यसमा निकै गम खाए ।

चिन्तन गर्दै करिब तीन दशक राष्ट्र बैंकमा बिताएका डा. पन्तले गरिबहरुका लागि गैर सरकारी संस्था ‘निर्धन’ को परिकल्पना गरे, जसबाट निर्धन उत्थान बैंक जन्मियो । यो नै नेपालको बैंकिङ इतिहासमा पहिलो लघुवित्त संस्था थियो ।

लघुवित्तको परिकल्पनाकार

विश्व लघुवित्तको इतिहासमा बंगलादेशी मोडललाई सर्बाधिक सफल मानिन्छ । त्यसका प्रयोक्ता डा. मोहम्मद युनुस नोवेल शान्ति पुरस्कारबाट समेत सम्मानित भए । युनुसको मोडल अहिले संसारभर प्रचलनमा छ ।

बैंकिङ पहुचभन्दा टाढाका जनतालाई सामूहिक जमानी वा बिना धितो सानो सानो ऋण सुविधा दिएर आर्थिक क्रियाकलापमा सहभागी गराउँदै बचत गर्ने बानी बसाउनु लघुवित्त अवधारणाको उद्देश्य हो । नेपालमा यसको सुरुवात डेपुटी गभर्नर डा. पन्तले गरेका थिए ।

सन् १९६८ मा राष्ट्र बैंक प्रवेश गरेका बैंकको अनुसन्धान, नियमन, सुपरीवेक्षणलगायतका विभागहरुमा काम गरे । राष्ट्र बैंकमा डेपुटी गभर्नर रहँदै १९९१ मा अनुसन्धान सल्लाहकारको रुपमा अफ्रिकी मुलुक गाम्बियाको केन्द्रीय बैंकमा करिब एक वर्ष बिताएका उनी अन्य धेरै देशहरु घुमे । त्यसक्रममा डा. युनुशसँग पनि उनको भेट र छलफल भयो ।

१९९२ मा गाम्बियाबाट फर्कंदा राष्ट्र बैंकमा डा. पन्तको डेपुटी गभर्नरको कार्यकाल दुई वर्ष र सेवा अवधि चार वर्ष बाँकी थियो । त्यही बसे गभर्नर बन्ने बाटो पनि खुल्ला थियो, तर उनले अब उपरान्त विपन्नहरुका लागि काम गर्ने भन्दै २६ वर्ष बिताएको केन्द्रीय बैंक छाडेर २०४७ सालमा ‘निर्धन’ नामक गैर सरकारी संस्था खोले ।

‘निर्धन’को एकमात्र उद्देश्य गरिबहरुमा लघुवित्त सेवा प्रवाह गर्नु थियो । त्योबेला बिना धितो कर्जा लगानी गर्ने कुरा बैंकहरुको सोच बाहिर थियो । डा. पन्तले राष्ट्र बैंकमा छँदा बैंकहरुले विपन्न वर्गमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्थाको लागि भूमिकाचाहिँ खेलिसकेका थिए ।

निर्धन संस्थाले पहिलो पटक २०४९ सालमा रुपन्देहीको सिक्टहनमा बिना धितो लघुकर्जा वितरण गर्यो । त्यसपछि १२ कात्तिक २०५५ मा कम्पनी ऐन, २०२१ र विकास बैंक ऐन, २०५२ अनुसार अनुसार निर्धन उत्थान बैंक खोलेर निर्धनका २५ हजार सदस्यसहित सबै वित्तीय स्वामित्व स्थानान्तर गरियो । विकास बैंक ऐन, २०५२ अहिले खारेज भइसकेको छ ।

निर्धन उत्थान बैंकले अहिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार गरीबीको रेखामुनि रहेका नेपालीहरुलाई वित्तीय तथा तालिम लगायतका गैर वित्तीय सेवा दिइरहेको छ ।

सामाजिक सेवामा सक्रियता र चिन्तन गरिरहेकै बेला गरिबी न्युनिकरणको नयाँ उपाय ल्याए लघुवित्त । त्यसैले उनलाई नेपालमा धेरैले ‘लघुवित्तका पिता’ भनेर सम्झन्छन् । त्यसका लागि उनले देशका कुनाकाप्चामा रहेका विपन्न वर्गमा वित्तीय सेवा पुर्याउने उद्धेश्य सहित निर्धन संस्थाको स्थापना गरे । त्यसको पहिलो प्राथमिकता ग्राहक सदस्य संख्या थियो । त्यसैले अहिले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था भए पनि शाखा सञ्जालको आधारमा यो संस्था वाणिज्य बैंकहरुभन्दा माथि छ ।

अहिले निर्धन उत्थान बैंकको १८१ शाखा छन् । ७७ जिल्लामै शाखा विस्तार गर्ने यो पहिलो वित्तीय संस्था हो । देशभर तीनलाख ५२ हजार ९४१ सदस्य छन् । उनीहरुले नियमित बचत र कर्जा लिएर उद्यम गरिरहेका छन् । गत आर्थिक वर्षमा १८ हजार ३८९ समूहलाई यो संस्थाले सेवा दिएको तथ्यांकले देखाउँछ।

अहिले दुईलाख २० हजार ५९३ जनाले यो संस्थाबाट कर्जा लिएर उद्यम गरिरहेका छन् । संस्थाले एक खर्ब १८ अर्ब १९ करोड कर्जा प्रवाह र १० अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ ।

संस्था प्रमुख उद्देश्य नै विपन्न वर्गको आर्थिक उपार्जनका लागि लगानी गर्ने हो । यो उद्देश्यमा सधैं दृढ निर्धन उत्थान बैंकले विवाहित वा एकल नेपाली महिलालाई सदस्य बनाउँछ । भूमिहीन, सुकुम्वासी, प्रतिपरिवार सिंचित ७.५ कठ्ठा वा १० रोपनीभन्दा कम जमिन भएका, अव्यवस्थित झुपडीमा बस्ने, प्रतिपरिवार वार्षिक १ लाख ३८ हजारभन्दा कम आम्दानी हुने र स्थायी आय नभएकालाई सेवा दिँदै आएको छ ।

संस्थाको पहिलो प्राथमिकतामा कृषि नै छ । यसबाट लाखौं घरधुरी साना किसान उद्यमी बनेका छन् । कृषिमा तरकारी खेति, गाई, भैँसी तथा बाख्रापान साथै सेवा क्षेत्रमा किराना, कस्मेटिक पसल, तरकारी व्यापार, ब्युटिपार्लर लगायतमा संस्थाले लगानी गरेको छ ।

कुटिर उद्योगहरुमा पनि संस्थाको लगानी छ । संस्थाले दालमोट, ढाका, भाँडा, मैनवत्ती, खेलौना, अगरवत्तीलगायतका लघु उद्यम गर्न कर्जा दिनका साथै लघुउद्यम सम्बन्धी तालिममा समेत लगानी गरेको छ ।


छोराको पालो

नेपालका गरिबहरुका लागि साहरा बनेको लघुवित्तलाई अभ्यासमा ल्याउने प्रणेता डा पन्तको २०७२ भदौं २१ गते लगभग सकृय अवस्थामै दिवंगत भए ।

‘घ’ वर्गको सानो संस्था कसरी यति ठूलो वित्तीय कारोबार गर्ने बन्यो भन्ने जिज्ञासा लाग्न सक्छ । स्वर्गीय डा. पन्तले संस्था जन्माए । अहिले संस्थाको अध्यक्ष पूर्व गभर्नर गणेशबहादुर थापा र कार्यकारी प्रमुख स्व. पन्तकै जेठा छोरा जनार्दनदेव छन् ।

पन्तसँग नेपाल इन्भेष्टमेन्ट बैंक र रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक भइसकेको अनुभव छ । थापा र पन्त संस्थालाई स्वर्गीय डा. हरिहरदेवले चाहेको उचाइमा पु¥याउन दत्तचित्त छन् ।


रोयल आचार्यले २०७६ मंसिर ९ गते  अनलाईनबखरमा प्रकाशित गरेको सामग्रीलाई सम्पादन गरेर हामीले प्रकाशन गरेका हौँ ।