नेपालको इतिहासलाई केलाउँदा विभिन्न कालखण्डमा आफ्नो राज्यलाई बाहिरी आक्रमणबाट जोगाउन तत्कालीन शासकहरूले आ–आफ्नो राज्यमा भौगोलिक बनावट र अवस्थाअनुसार किल्लाबन्दी गरी राज्यलाई सुरक्षित गर्दथे । उक्त किल्लाबन्दीका लागि भौगोलिक बनावटअनुसार सामरिक महत्वका स्थानमा विभिन्न समयमा विभिन्न गढीहरू निर्माण गरेको पाइन्छ । नेपाल–अंग्रेज युद्धको समयमा होस् या नेपाल–भोट युद्धको समयमा होस्, उक्त गढीहरूको मद्दतबाट दुस्मनलाई पराजित गरी युद्धलाई निर्णायक भूमिकामा पु¥याएको तथ्यबारे हामी जानकार नै छौँ ।
 
नेपाल एकीकरणपूर्व बाइसे र चौबीसे राज्यहरूले आ–आफ्नो सुरक्षाका लागि सामरिक महत्वका स्थानलाई चयन गरी गढी निर्माण गरेको पाइन्छ । उक्त बाइसे–चौबीसे राज्यमध्ये तत्कालीन अवस्थामा पाल्पा एक शक्तिशाली राज्यको रूपमा थियो । उक्त पाल्पा राज्यले अन्य राज्यहरूबाट हुन सक्ने स म्भावित आक्रमणलाई लक्षित गरी तत्कालीन समयमा विभिन्न स्थानहरूमा गढी निर्माण गरेको पाइन्छ ।
 
तत्कालीन समयको पाल्पा राज्यको भौगोलिक बनावट र अवस्थाअनुसार राज्यलाई हुन सक्ने सम्भावित बाहिरी आक्रमणबाट जोगाउन किल्लाबन्दी गर्नुपर्ने आवश्यकता थियो । त्यसै ले, सोही आवश्यकता र आक्रमणको दिशालाई पहिचान गरी पाल्पा राज्यमा पनि तत्कालीन समयमा विभिन्न गढीहरू निर्माण गरेको पाइन्छ, जुन निम्नअनुसार छन् ः 
 
(क) मुझुङगढी ः पाल्पाको साविक मुझङ गाविस हाल रैनादेवी छहरा गाउँपालिकामा अवस्थित गढी हो । जहाँ पाल्पाली फौजले गोर्खाली फौजसँग प्रतिकारात्मक लडाइँ लड्न किल्लाको रूपमा तयार पारेका थिए । किराँत भाषामा ‘मु’ भन्नाले माथि र ‘जुङ’ भन्नाले किल्ला÷गढी भन्ने बोध हुन्छ । यस अर्थमा उच्च स्थानमा रहेको गढी भन्ने बोध हुन्छ । यो गढीलाई पुरानो गढीको रूपमा लिइन्छ । हाल यस गढीमा धार्मिक रूपमा पूजाआजा गरिँदै आएको छ । 
 
ख) कालिकागढी ः पाल्पा जिल्लाको साविक मुझुङ गाविस हाल रैनादेवी छहरा गाउँपालिकामा अवस्थित कालिका मन्दिर रहेको स्थानमा यो गढी अवस्थित छ । पुराना हातहतियार रहेको यस स्थानमा हरेक वर्ष दशैँ पूर्णिमाको दिन
सराँय खेल्ने गरिन्छ । धार्मिक रूपले पनि यो गढीको महत्व रहेको छ । 
 
(ग) बल्डेङगढी ः पाल्पाको हाल रैनादेवी छहरा
गाउँपालिका वडा– ७ मा पर्ने यो गढी पश्चिम पाल्पाबाट तराई झर्ने मूल बाटोमा पर्ने मगर राजा बलिहाङको राजधानी भएकाले बलिहाङको नामबाट अपभ्रंश भई बल्डेङगढी नाम रहन गएको हो । यो गढी मगर राजाको पालामा बनेको जनश्रुति छ । यो गढीमा वज्र लगाइएको, इनार, हातहतियार राख्ने गोप्य ठाउँ र सैनिक अभ्यासका क्षेत्र छन् । उक्त गढी नेपाल एकीकरणको दौरानमा प्रतिकारात्मक लडाइँका लागि प्रयोग भएको थियो ।
 
(घ) माथागढी ः जिल्लाको हाल माथागढी गाउँपालिका पर्ने माथागढी पाल्पाको सदरमुकाम तानसेनदेखि करिब ५० किमि दक्षिणमा अवस्थित छ । यो गढी तत्कालीन भुरे राजाले निर्माण गरेका थिए । यो गढीलाई नेपाल–अंग्रेज युद्धको
दौरान अभैm मजबुत बनाई तत्कालीन कर्णेल उजीरसिंह थापाले दक्षिणपूर्वी भागबाट हुन सक्ने सम्भावित अंग्रेज फौजको आक्रमणविरुद्ध रक्षात्मक लडाइँ लड्न करिब ३ सय फौजको टुकडी तैनाथ गरेका थिए भन्ने कुरा इतिहासमा
उल्लेख छ । जीतगढी र नुवाकोटगढीमा अंग्रेज फौजलाई रोक्न नसकेको खण्डमा यो गढीलाई वैकल्पिक किल्लाको रूपमा स्थापना गरिएको थियो । उक्त गढीमा तल्कालीन युद्धमा प्रयोग गरिने धनुषकाँड र तरबारजस्ता युद्ध सामग्री आज पनि देख्न सकिन्छ । गढी वरिपरि करिब ४ वटा ट्रेन्च (नाली) र क्रलिङ ट्रेन्च (घिस्रिने नाली) आफँै पनि देख्न सकिन्छ । नेपाल–अंग्रेजयुद्ध पछि पनि २००७ मा उक्त गढीमा नेपाली फौज तैनाथ रहेको थियो । सांस्कृतिक र धार्मिक रूपमा पनि उक्त गढीको छुट्टै महत्व छ । उक्त गढीमा माथागढी कालिकादेवीको मन्दिर स्थापना गरी हालसम्म पनि देवीको पूजाअर्चना गरिँदै आएको छ ।
 
ङ) बकामगढी ः पाल्पाको पूर्वखोला गाउँपालिका अवस्थित यो गढीमा नेपाल एकीकरणको दौरान गोरखाली फौज र पाल्पाली फौजको युद्ध भएको थियो । सो समयमा पाल्पा राज्यमाथि पूर्वी दिशाबाट हुन सक्ने सम्भावित हमलाका विरुद्ध पाल्पाली फौजले अब्जरभेसन (देखभाल) गर्ने स्थानको रूपमा प्रयोग गरेका थिए । उक्त गढीको केही तल करिब २० मिटर लामो गुफा रहेको छ । उक्त गढी समुद्री सतहबाट १ हजार ४ सय २० मिटर उचाइमा रहेको छ ।
 
च) नुवाकोटगढी ः पाल्पा जिल्लाको हाल तिनाउँ गाउँपालिकास्थित दोभानमा पर्ने नुवाकोटगढी समुद्री सतहदेखि करिब ८ सय मिटरको उचाइमा रहेको छ । यस नुवाकोटगढीको पश्चिममा काठेगढी र पूर्वमा तोपहान क्षेत्र पर्दछ । तत्कालीन समयमा यस गढीमा तैनाथ सेनाले परेड खेल्ने नुवाकोट टँुडिखेलमा हाल रूपा प्राथमिक विद्यालय रहेको छ । यस गढीको निर्माण मुकुन्द सेनले गरेको भन्ने भनाइ रहेको छ । यही गढीबाट कर्णेल उजीरसिंहले इस्ट इन्डिया कम्पनीलाई परास्त गरेका थिए भन्ने भनाइसमेत रहेको छ ।
 
छ) काठेगढी ः पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा अवस्थित काठेगढी महाभारत शृंखलामा पर्दछ । उक्त स्थान समुद्री सतहबाट करिब १ हजार ४६ मिटरको उचाइमा रहेको छ । उक्त गढी अग्लो ठाउँमा भएकाले चारैतिर
निगरानी गर्न सकिन्छ । उक्त गढीलाई सानो नुवाकोटगढी पनि भनिन्छ । नाम काठेगढी रहे पनि उक्त गढी ढुंगा र माटोले बनेको छ । नुवाकोटगढीको थप सुरक्षाका लागि यो गढी निर्माण गरिएको भन्ने गरिन्छ । 
 
गढीहरूको महत्व तथा संरक्षणको आवश्यकता 
 
नेपालको एकीकरणपूर्व पाल्पा एक शक्तिशाली र बलियो राज्य थियो । राज्य शक्तिशाली र बलियो हुनुमा कुशल शासकको नेतृत्वदायी भूमिकाको साथसाथै राज्यलाई बाहिरी आक्रमणबाट सुरक्षित बनाउन सामरिक महत्वको पनि ठूलो भूमिका रहन्छ । तत्कालीन पाल्पा राज्यमा सामरिक दृष्टिकोणले महत्वपूर्ण स्थानमा निर्माण गरिएका गढीहरूकै कारण पाल्पाभन्दा पश्चिमतर्फका राज्य एकीकरण भइसकेपछि मात्र पाल्पा राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास हाम्रासामु साक्षी छ ।
 
यसरी ऐतिहासिक र सामरिक महत्व बोकेका गढीहरू जसले राज्यलाई पछिसम्म पनि जोगाइराख्न मद्दत पु¥याए, त्यस्ता ऐतिहासिक र पूरातात्विक महत्वका सम्पदाको समयमै यथोचित संरक्षण र व्यवस्थापन हुन सके एकातर्फ पुरातात्विक महत्वका सम्पदाको जर्गेना हुने र अर्कोतर्फ इतिहासका विद्यार्थीहरूलाई यसको ऐतिहासिक महत्वबारेमा थप ज्ञान बढ्नुका साथै पर्यटकीय हिसाबले पनि समग्र जिल्लाको विकासमा अझ टेवा पुग्न जाने देखिन्छ ।
 
त्यसैले यसको उचित संरक्षण र व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिको नेतृत्वदायी पहल र सो विषयसँग सम्बन्धित सरोकारवाला विषय– विज्ञहरूले एकआपसमा समन्वय गरी समयमै उचित कदम चाल्नुपर्ने नितान्त आवश्यक देखिन्छ । गढीहरूको महत्वको यथार्थ पहिचान महत्वका गढीहरूको समयमै आवश्यक संरक्षण र प्रवद्र्धन गर्न सके समग्र जिल्लाको विकासमा थप टेवा पुग्न जाने देखिन्छ । हुन त, नेपाल राज्यभरि नै यस्ता कैयौँ गढीहरू संरक्षणको अभावमा जीर्णावस्थामा रहेको तथा नाम नै लोप हुँदै जाने सम्भावना रहेको बारे जानकार हुँदाहुँदै पनि एउटा जिल्लामा रहेको गढीहरूको संरक्षणका लागि मात्र महत्व दिई लेख केन्द्रित गर्न खोजिएको होइन । यसका लागि समग्र राष्ट्रिय एकीकृत नीति, योजना र बजेटको आवश्यकता त पर्छ नै, यस लेखका लेखक पाल्पा जिल्लावासी भएको नाताले जिल्लामा रहेका गढीहरूको चिनारी र सम्भव भएसम्म यसको संरक्षणबारेमा सबैको जानकारीका लागि यो लेखमार्फत प्रस्तुत गर्ने जमर्को मात्र गरिएको हो ।
 
इतिहासको संरक्षण गर्न सकियो भने भावी पुस्ताका लागि विगतको ज्ञान, सोको खोजी र अनुसन्धानका लागि महत्वपूर्ण दस्तावेज बन्न पुग्दछ । इतिहासका पानाहरू पल्टाउँदा जति पाल्पा राज्यको महत्व र प्रभाव थियो, त्यसै गरी हालसम्म पनि पाल्पा जिल्लाको महत्व र प्रभाव उत्तिकै रहेको महसुस हुन्छ, जुन सम्पूर्ण पाल्पावासीका लागि गौरवको विषय हो । त्यसै ले यस जिल्लामा रहेका विभिन्न गढीलगायत ऐतिहासिक, धार्मिक सम्पदालाई पहिचान गरी समयमै यिनीहरूको आवश्यक संरक्षण, प्रवद्र्धन र उचित व्यवस्थापन गर्न सके इतिहास सधैँ जीवित रहिरहनेछ । मेरो पाल्पा, मेरो गौरव !
 
(लेखक ः नेपाली सेनाका अवकाशप्राप्त मानार्थ उपरथी हुनुहुन्छ ।)