पाल्पाको पहिचानका रूपमा रहेको ‘पाल्पाली करुवा’ उद्योग कच्चा पदार्थ र कामदारको अभावमा पछिल्लो समयमा धरासायी बन्दै गएका छन् ।
जिल्ला सदरमुकाम तानसेनस्थित टक्सारटोल भरी नै रहेको करुवा उद्योग अहिले कच्चापदार्थ र दक्ष कामदारको अभावमा निरन्तर बन्द हुँदै गएका छन् । हातले कुँदेर बनाइने पाल्पाली करुवा बनाउने सीप भएका दक्ष कामदारले नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्दा र करुवा उत्पादनका लागि कच्चा पदार्थहरू धातु, काँच, मैन, कोइलाको अभावले यस्ता करुवा उद्योग संकटमा परेका छन् । तानसेनमा २५ वटा उद्योगमा करुवा उत्पादन हुँदै आए पनि पछिल्लो वर्षमा तीन वटा करुवा उद्योगले मात्र पाल्पाली करुवाको शाख जोगाएको छ, यी करुवा उद्योगसमेत कामदार र कच्चा पदार्थको अभावमा संकटमा परेको करुवा पाल्पाली करुवा उद्योगका सञ्चालक प्रदीप बज्राचार्यले बताए ।

अहिले तानसेन करुवा उद्योग र पाल्पाली करुवा उद्योग मात्र तानसेन टक्सारमा सञ्चालनमा छन् । बाह्य पर्यटकहरू मात्रै होइन आन्तरिक पर्यटकलाई करुवा आर्कषणको वस्तु बनेकाले माग बढी आउने गरेको उद्योगी सुरेशमान बज्राचार्यले बताउँछन ।
पाल्पाली करुवा जति आकर्षक र बलियो साथमा चम्किलो छ त्यति अन्य स्थानमा बनाइने हुँदैन । पोखरेली र भोजपुरेभन्दा पाल्पालीको माग बढी रहेको उद्योगी मनीन्द्र बज्राचार्यको भनाइ छ । “मेरो हजुरबुबा, बुबाहरूले गरेको भनेको सुन्दा पनि पाल्पामा करुवा उत्पादन गर्न थालेको ढेडसय वर्षभन्दा वढी भइसकेको छ,” उद्योगी बज्राचार्यले भने, “तानसेन नगरपालिकाका–५ टक्सारटोलमा परापूर्वकालदेखि बसोबास गर्दै आएका शाक्य, बज्राचार्यहरूले नै करुवा उत्पादन गर्ने काम सुरु गरेको उनीहरूको दाबी छ ।


हातले कुदेका कलात्मक पाल्पाली करुवाको माग देश तथा विदेशा उच्च हुने भए पनि भएका उद्योगसमेत बन्द हुँदै गएपछि माग धान्न समस्या भएको छ । पाल्पाली करुवा मागअनुसार उत्पादन हुन सकेको छैन, दशैँ देखि कच्चापदार्थ भारतबाट नआउँदा उत्पादन अति न्यून हुन थालेको करुवा व्यवसायीहरू बताउँछन् । पाल्पाली करुवा हस्तकलाको प्रयोग गरी निर्माण गर्दा मेहनत र श्रम प्रयोग बढी लाग्ने र राम्रो खाले काँचको प्रयोग हुने भएकाले पाल्पामा उत्पादन हुने करुवाको मूल्य केही महँगो हुन्छ । भोजपुरी र पोखरेली करुवा मेसिनद्वारा उत्पादन हुन्छन्, त्यस्ता खालका करुवा पाल्पाली करुवाभन्दा सस्तो मूल्यमा पाइने र पाल्पाली करुवा हस्तकला प्रयोगले करुवा बलिया र आकर्षक हुने तानसेनका टक्सारका करुवा व्यवसायी लालचन्द्र शाक्यले बताए ।


पाल्पाली करुवा उत्पादन कामदार र कच्चा सामग्रीको अभावले लोप हुने अवस्थामा पुगे पनि हालसम्म करुवा संरक्षण, बजार प्रवद्र्धनका लागि स्थानीय तहबाट पहल हुन सकेको छैन ।
पाल्पाली करुवा उपहार आदान–प्रदानका लागि बढी प्रयोग भए पनि दक्ष कामदारको अभावमा लोप हुने खतरा बढेको छ । हाल तानसेनमा मेसिनद्वारा उत्पादित भोजपुरी र पोखरेली करुवा बजारमा भेटिन्छ, जसले गर्दा पाल्पाली करुवाको शाख जोगाउन व्यवसायीलाई हम्मेहम्मे पर्ने गरेको छ ।
पाल्पाली करुवा जापान, बेलायत, अमेरिका र थाइल्यान्डसम्म निर्यात हुने गरे पनि मागअनुसार उत्पादन हुन सकिरहेको छैन । पाल्पाली करुवासँगै काँचका थाल, कचौरा, पानसलगायत सामग्री किन्न उपभोक्ताको चाहना भए पनि बजारमा करुवा नभएकाले अन्य जिल्लाकै किन्न बाध्य छन् ।
पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पाली करुवालाई संरक्षणका लागि नयाँ प्रविधि ल्याउने र उत्पादन बढाउन अध्ययन भइरहेको बताए ।
पाल्पा जिल्ला ढाका र करुवाका लागि प्रख्यात मानिन्छ । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा एसियाकै ठूलो करुवा रहे पनि करुवा उद्योग सञ्चालनमा समस्या हुँदा पाल्पाली करुवा लोप हुने खतरा बढेको छ ।
व्यवसायीले भने स्थानीय तह, घरेलु उद्योग, पाल्पा उद्योग वाणिज्य संघको बेवास्थाका कारण बर्सेनि करुवा उद्योग बन्द हुँदै गएको बताउँछन् ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले व्यवसायीहरू सीप हस्तान्तरण गर्न र आधुनिकता अपनाउन नचाहेकै कारण यहाँका करुवा उद्योग धारासायी बन्दै गएको बताउँछन्, श्रेष्ठले व्यवसायीले सीप हस्तान्तण गरेमा पाल्पाली करुवा उद्योग सञ्चालनमा समस्या नहुने बताउँछन्, पाल्पा उद्योग वाणिज्य संघ व्यवसायीको समस्याको विषयमा सदैव हातेमालो गर्दै पाल्पाली करुवा उद्योगको विकासमा लाग्न तयार रहेको श्रेष्ठले बताए ।