पाल्पा जिल्ला प्राकृतिक छटा र सुन्दरताले जति भरिपूर्ण छ, त्यति नै मात्रामा सिर्जनशीलताका दृष्टिले उन्नत पनि छ । शिक्षाको धनी पाल्पाले धेरै साहित्यकार र लेखकहरू जन्माएको छ । पाल्पाका यी सर्जक राष्ट्रिय रूपमै प्रख्यात छन् । 
 
पाल्पा नीलम कार्की निहारिका’ को ‘योगमाया उपन्यास’ का कारणले पनि चर्चित छ । मदन पुरस्कार गुठीले यो वर्षको मदन पुरस्कार पाल्पाकी लेखिका नीलम कार्की निहारिक को ‘योगमाया उपन्यास’ लाई प्रदान गरेको छ । मदन पुरस्कार गुठीले २०७४ सालमा प्रकाशित पुस्तकमध्येबाट मदन पुरस्कारका लागि योगमाया उपन्यास छनोट गरेको थियो । योगमाया साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो । १९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन् । उनले निरंकुश राणाशासनको विरोध गरेकी थिइन् । अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन् । तिनै योगमायाबारेमा साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो ’योगमाया’ । नीलम कार्की निहारिकाका दुई कवितासंग्रह, तीन कथासंग्रहका साथै अर्की आईमाई र चीरहरण उपन्यास प्रकाशित छन् । चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो । 
 
पाल्पा प्रसिद्ध साहित्यकार माधवप्रसाद देवकोटाको जन्मथलो हो। विभिन्न पुरस्कारबाट पुरस्कृत माधवप्रसाद देवकोटा पाल्पाका इज्जत हुन् । उनका छोरा कुलमणि देवकोटा साहित्यका अर्का हस्ती हुन् । उनका राष्ट्रिय लोकगीत, छरिएका फूल, साक्षरताको प्रसार, पुतलीको फूल, गाईजात्रा, सञ्चयनी, बुद्धलोकलगायतका कृति प्रकाशित छन् ।
 
पाल्पा मदनपोखराका भवेश्वर पंगेनी इतिहासका जानिफकार हुन् । उनका डा.के.आई सिंहको चीन प्रवास, पाल्पामा प्रजातान्त्रिक आन्दोलनको सय दिन, नेपालको प्रशासनिक इतिहास, चन्द्रशमशेरको पालामा भारतमा पठाइएका विद्यार्थीहरूको छात्रवृत्तिसम्बन्धी व्यवस्थालगायतका कृति प्रकाशित छन् । पाल्पामा प्रजातान्त्रिक आन्दोलनको सय दिनले २०४९ सालको मदन पुरस्कार पाउन सफल भएको थियो । 
 
पाल्पा ध्रुवघाटका वनमाली निराकार आधुनिक नेपाली कथाका सशक्त हस्ताक्षर हुन् । उनको समयको पर्खाल, लोकतन्त्रको शंखनाद, पत्र सञ्चयन, विवरुका कथाहरू प्रकाशित भएका छन् । अहिले उनी भैरहवाबाट साहित्य सेवामा समर्पित छन् ।
 
 
कविराज दशरथमान सिंहको पाल्पाको शताब्दी चित्र अर्को महत्वपूर्ण सिर्जना हो । उनका छोरा रामचन्द्रमान सिंहको नेपालको भन्सार पुस्तक प्रकाशित छ । उनका अर्का छोरा शंकरमान सिंह पनि आर्थिक लेखनमा संलग्न छन् ।
 
राजनीतिक तथा साहित्यकार पाल्पा मेहलधाराका कमलराज रेग्मीको आमा, म र पाल्पा, मदनमणिको लेखनधर्मिता, चन्द्रहास, शर्मिला, पादुका दान, दोस्रो विवाह नामक कृति प्रकाशित छन् । उनका छोरा डा. प्रकाशराज रेग्मीको स्वस्थ मुटुसम्बन्धी लेख निरन्तर आइरहन्छ ।
 
शैक्षिक अग्रज पाल्पा नारायणस्थानका जगतबहादुर जोशीका जसवन्ते र आज सूर्य बिरामी छ कृति प्रकाशित भएका छन् । पत्रकार विनयकुमार कसजूका बालरचना अति चर्चित छन् ।
 
प्राध्यापक तथा बिमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीको कर्मचारी व्यवस्थापनको सिद्धान्त विश्व विद्यालयका विद्यार्थीहरूको हात र सिरानमा हर क्षण रहने गर्छ । उनका अन्य प्रकाशन पनि अति नै उपयोगी छन् ।
 
पाल्पाका निजामती सेवाका प्रशासकहरूको कलम पनि सिर्जनातर्फ अभिमुख भएको देखिन्छ । कविराज दशरथमान सिंहका छोरा नेपाल सरकारका पूर्वसचिव रामचन्द्रमान सिंहको नेपालको भन्सार पुस्तक प्रकाशित छ । रामचन्द्रमान सिंहका प्रशासनसँग सम्बन्धित थुप्रै लेखरचना प्रकाशित छन् । लेखाका कर्मचारी हुँदै महालेखा नियन्त्रक कार्यालयका सचिवबाट अवकाश पाएका पाल्पा चिदीपानीका राजेन्द्र नेपालले दक्षिण कोरिया, सिंगापुर, चीन र डेनमार्कको अनुभवलाई संगालेर आर्थिक समृद्धि नामक पुस्तक प्रकाशित गरेका छन् । यो पुस्तकले अहिले बजारमा राम्रो चर्चा पाएको छ ।
 
प्रशासनविद् तथा संघीयताका विश्लेषक पाल्पा बर्तुङका दामोदर रेग्मीको प्रशासन अनलाइनमा विगत दुई वर्षदेखि निरन्तर रूपमा साप्ताहिक रूपमा लेखहरू प्रकाशित हुँदै आइरहेका छन् भने उनको भर्खरै प्रकाशित पुस्तक संघीय शासन प्रणाली, सुशासन र विकासले राम्रो बजार लिइरहेको छ । सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव तथा पाल्पा कुसुमखोलाका भागवत नेपालका लेखन पनि जनसमक्ष निरन्तर आइरहेका छन् । वाणिज्य बैंकका कर्मचारी तथा पाल्पा पोखराथोकका विनोद नेपालका रचनाहरू पाठकले निरन्तर पढ्न पाइरहेका छन् ।
 
साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका अध्यक्ष, नेपाल नागरिक समाज, पाल्पाका अध्यक्ष तथा तानसेन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मी पनि थुप्रै सिर्जनाका सर्जक हुन् । उनका अफसोच, अष्टदूत, अनुसन्धान अवलोकन, अठार, अनुसन्धान सिद्धान्त, आमा, अमृताञ्जली, अन्तराल, अन्ततः नामक अबाट नाम सुरु भएका कृति प्रकाशित छन् ।
 
पाटन क्याम्पसका सहप्राध्यापक तथा पाल्पा चिदिपानीका डा. शिवराज अधिकारीको बी.ए.का विद्यार्थीका लागि अर्थशास्त्र पुस्तक प्रकाशित भएको छ र रोगहरूको आर्थिक विश्लेषण नामक पुस्तक र अन्य अनुसन्धान प्रकाशित भएका छन् । उनी अनुसन्धानज्ञाता मानिन्छन् । डा. विष्णु खनाल, डा. श्रीकृष्ण श्रेष्ठ, पृथ्वीराजलिगल, मोहनमान सैंजु, पूर्वसचिव रामेश्वर खनाल, डा. पोषराज पाण्डे, गभर्नर चिरञ्जीवी नेपाल, डा. गोपीनाथ रेग्मीलगायत यहाँ नाम छुट्न गएका अन्य थुप्रै सर्जक हस्तीहरूले जिल्लाको गरिमा, पहिचान र श्रीवृद्धि गरेका छन् । 
 
जय पाल्पा ।