नेपालको ५ नम्बर प्रदेशमा पर्ने पाल्पा देशकै ७७ जिल्लामध्ये विविध विशेषतायुक्त सुन्दर रहेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये पाल्पा पहाडी जिल्ला हो । भौगोलिक रूपमा २७ डिग्री ३४ मिनेट, देखि २७ डिग्री २७ मिनेटसम्म उत्तरी आक्षांश र ८३ डिग्री १५ मिनेटदेखि ८४ डिग्री २२ मिनेटसम्म पूर्वी देशान्तरमा फैलिएको छ । कुल १ हजार ३ सय ७३ वर्गकिमि क्षेत्रफल भएको जिल्लाको पूर्व–पश्चिम दूरी सरदर ७० किमि र उत्तर–दक्षिण दूरी सरदर २० किमि भएकाले सानो तथा सुन्दर पहाडी जिल्लाको रूपमा परिचित छ । नेपालको कुल भू–भागको ०.९३ प्रतिशत भू–भाग ओगटेको पाल्पाको आकृति नेपालको नक्सासँग मिल्दोजुल्दो छ पनि भन्ने गरिन्छ । भूबनोट र भौगोलिक अवस्थितिले पाल्पा प्रकृति र सौन्दर्यको संगम बनेको छ ।

 

सिमानाको हिसावले जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा गुल्मी र अर्घाखाँची, उत्तरमा स्याङ्गजा र गुल्मी तथा दक्षिणमा रूपन्देही जिल्ला रहेको छ । यस जिल्लाको वार्षिक सरदर तापक्रम ८ डि.से.देखि २८ डि.से.सम्म हुने र समशीतोष्ण जलवायुको कारण तथा हावापानीको उपयुक्तताको हिसाबले बसोबासका निम्ति अत्यन्त उत्तम मान्ने गरिन्छ । जिल्लाको कुल भूभागमध्ये चुरे पहाडमा १८ प्रतिशत र महाभारत शृंखलामा ८२ प्रतिशत भू–भाग पर्छ । जिल्लामा सरदर वार्षिक वर्षा १९०३.२ मिलिमिटर हुन्छ ।

 

रामपुर, माडी, अर्गली, कचल, दर्पुकजस्ता फाँट र कालीगण्डकी तटका क्षेत्र कृषि उत्पादनका लागि उर्बर मानिन्छन् । रामपुर, माडी र अर्गली जिल्लाका अन्नभण्डार मानिन्छन् । मुख्य वनस्पतिमा साल, सिसौ, सिमल, जामुन, टुनी, चाप, हर्रो, बर्रो आदि बेंसी तथा चुरे क्षेत्रमा पाइन्छन् भने काफल, चिलाउने, कटुस, सल्लो, लालीगुराँस आदि लेक तथा महाभारत शृंखलामा पाइन्छन् । लुम्बिनी र गण्डकी अञ्चलको सीमा नदीको रूपमा रहेको कालीगण्डकी नदी धार्मिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण छ । सत्यवती ताल, सीता कुण्ड र प्रभासताल यस जिल्लाका मुख्य ताल तथा कुण्ड हुन् । यसमध्ये सत्यवती ताल धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । सेनवंशी र मगराँती पृष्ठभूमि बोकेको पाल्पा इतिहास, कला, शिक्षा, संस्कृति, रहनसहन र सभ्यताको दृष्टिले उन्नत जिल्लाको पहिचान वनाउन सफल भएको छ । राणाकालमा चार कमान्डमध्ये एक कमान्ड पाल्पा जिल्लामा रहने व्यवस्थाले पाल्पा ऐतिहासिक कालदेखि नै प्रमुख प्रशासनिक क्षेत्रको रूपमा समेत परिचित रहँदै आएको छ । पर्यकीय क्षेत्रका दृष्टिले पाल्पा आफैँमा चिरपरिचित पर्यटकीय गन्तव्य हो । तानसेनमा रहेको श्रीनगरडाँडा प्राकृतिक छटाले भरिपूर्ण छ । यस डाँडाबाट धौलागिरी, माछापुच्छे, अन्नपूर्णलगायत नेपालका सबै जसो हिमशृंखलाको सजिलैसँग दृश्यावलोकन गर्न सकिन्छ । यस जिल्लामा रानीमहल, श्रीनगरडाँडा, भैरवस्थान, मदनपोखरा, रम्भादेवी, पूर्वखोला, रामपुर, राम्दी सुनगुफा, कालीगण्डकी, दर्लम महाकाली, दर्लमडाँडा, महामृत्युञ्जय शिवासन बराङ्दीजस्ता धेरै पर्यटकीय तथा धार्मिक स्थल छन् । खड्गशमशेरले आफ्नी रानीको सम्झनामा बनाएको रानीमहल केही दशकयता नेपालको ताजमहलको नामले सुपरिचित छ । यो आन्तरिक तथा बाह्य पर्यटक को प्रमुख आकर्षणको केन्द्रसमेत बनेको छ । यसका अतिरिक्त चितवन, देवघाट, पोखरा, लुम्बिनी, स्वर्गद्वारी, ढोरपाटन, अर्घाखाँचीको सुपादेउरालीको बीचमा रहेर यी पर्यटकीय तथा धार्मिक स्थानबाट समेत निकटतम दूरीमा रहनुले यस जिल्लाको पर्यटकीय सन्जालमा आबद्ध हुने सम्भावना अझै बढेको छ ।

जिल्लाका विविध सांस्कृतिक आयाममा पाल्पा समृद्ध छ । अन्य स्थानका प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सबैजसो भूभाग पहाडी धरातलमा पर्ने भएका कारण सिर्जित चुनौतीलाई प्याराग्लाइडिङ, केवलकार, टे«किङ रुटको रूपमा परिणत गर्ने दीर्घकालीन योजनाद्वारा सम्बोधन गर्न सकिने स्थिति छ । आफ्नै भाषा र संस्कृतिले धनी मगर जातिको बाहुल्य रहेको हुनाले मगर संस्कृतिको केन्द्र बन्न सक्ने हैसियत पाल्पाले बोकेको छ । मगर संस्कृतिको थप विकास विस्तार गरी व्यावसायिकता प्रदान गर्न सकिने प्रशस्त सम्भावना छन् । मगर सांस्कृतिक संग्रहालयको स्थापना गरेर मगर संस्कृतिको अध्ययन–अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने र पर्यटकीय सम्भावनाको वृद्धि गर्न सकिने प्रशस्त सम्भावना विद्यमान रहेको छ । पाल्पाको तानसेनमा विसं. १९८३ मा ‘पुस्तक पढ्ने दलान’ नामबाट सुरु भएको धबल पुस्तकालय नेपालको जेठो र ऐतिहासिक पुस्तकालय हो । जहानियाँ राणा शासनका बेला जनचेतनाको बिगुल फुक्न अग्रणी मानिएको धबल पुस्तकालयको यो ऐतिहासिकतालाई जीवन्तता प्रदान गरिरहन यसको सम्भार र विकास गर्ने तथा प्रादेशिक ऐतिहासिक पुस्तकालय तथा अध्ययन–अनुसन्धान केन्द्रको रूपमा विकास गरिनु आवश्यक छ । सत्यवती ताल, भैरवस्थान, नारायणस्थान, ऋषिकेश मन्दिर, रम्भादेवी, भगवतीस्थान, अर्गली, रानीघाट, गोखुंगा, रिम्घालेक, रिब्दीकोट, हात्तीलेक, बल्ढेङगढीजस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको छुट्टै महत्व रहेको छ । यी क्षेत्रलाई धार्मिक पर्यटक क्षेत्रको रूपमा विकास गरेर यसको अग्र र पृष्ठ सम्बन्धलाई अन्य आर्थिक आयामसँग आबद्ध गर्न सकिने सम्भावना पाल्पा जिल्लाले बोकेको छ ।

 

पाल्पाली ढाका नेपालभरकै उत्कृष्ट मानिन्छ । साथै, पाल्पाली करुवाप्रतिको आकर्षण देशभरि नै रहेको छ । पर्यटन, व्यावसायिक ढाका र करुवा तथा भाँडावर्तन निर्माणका उद्योगले यस जिल्लाको आर्थिक विकासमा टेवा पु¥याइरहेका छन् । पाल्पाली ढाका र करुवाको देशभित्र र बाहिर रहेको प्रसिद्धिलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न सक्ने सम्भावना छन् । सिद्धार्थ राजमार्गले यस जिल्लाको सम्बन्धलाई रूपन्देही जिल्ला हुँदै भारतसँगको सीमासँग जोडिदिएको छ भने पोखरा, पर्वत, म्याग्दी, मुस्ताङ हुँदै चीनसँगको सीमासँग पाल्पाको पहुँच कायम हुन पुगेको छ । उत्तरदक्षिण फैलिएको भूपी शेरचन मार्ग र सिद्धार्थ राजमार्गको यो अवसरको उपयोगबाट पाल्पाका उत्पादनलाई निर्यात गर्न सक्ने मार्गको रूपमा समेत उपयोग गर्न सकिने मात्र होइन कि स्थलमार्गका पर्यटकआई आकर्षितसमेत गर्न सकिन्छ । पहाडी धरातल हुँदा कृषिका दृष्टिले उर्बर भूमिको अपर्याप्त भए पनि माडी, अर्गली र रामपुरफाँट धान खेतीका लागि प्रसिद्ध छन् भने कफी र अदुवा सबै जसो ठाउँमा उत्पादन हुने गर्दछ । निर्वाहमुखी खेतीको अतिरिक्त व्यावसायिक खेतीको सम्भावना जिल्लाले बोकेको छ । जिल्लाले आधुनिक कृषि प्रणालीको माध्यमबाट आर्थिक विकासका निम्ति  विभिन्न प्रयास गर्दै आएको छ । मदनपोखराले कृषिमा ल्याएको परिवर्तन अन्य जिल्लाका लागि पनि उदाहरणीय बनेको छ । यी क्षेत्रलाई प्रारम्भमा जिल्लाको माग पूरा गर्न सक्ने हैसियतमा ल्याई दीर्घकालमा जिल्लाबाहिर पठाउन सक्ने सम्भावना खोजी गर्न सक्नेसमेत देखिन्छ ।

 

पाल्पाका अन्य दर्शनीय स्थलमा रणउजेश्वरी भगवती मन्दिर, अमरनारायण मन्दिर, तानसेन दरबार, तानसेन दरबारको मूलढोका, खड्गस्तम्भ, तानसेन शीतलपाटीको गोलघर, ऋषिकेश मन्दिर, अर्गली दरबार, राधाकृष्ण मन्दिर (सिद्धेश्वर, देउराली अर्चले), केलादीघाटका कलात्मक मन्दिर (रामपुर, दर्छा), रिब्दीकोट, भैरव मन्दिर, भैरवस्थान, माण्डव्य मन्दिर माडी, रम्भापानी, बाकँुममुढी र रिम्घालक, गोरु काट्ने (ऐतिहासिक ढुंगा) ः कचल गाविस, राम्दी सिद्धबाबा, भीमसेन मन्दिर, शिवालय, सरस्वती मन्दिरः प्रभास, भैरव मन्दिरः छहरा, कोकलादेवी मन्दिरः मदनपोखरा, आनन्द विहार, होलांग्दी बुद्ध विहार, होलांग्दी, तानसेन, गणेश मन्दिरः टक्सारटोल, मखनटोल, श्रीनगर तानसेन, नुवाकोट भैरवः दोभान गाविस, वेगनासदेवी मन्दिरः चापपानी, वनदेवीः तानसेन, मच्छेन्द्रादेवी, गंगादेवी, राधाकृष्ण मन्दिरः सोमादी, बालसिद्ध मन्दिर ः हेक्लाङ, बाली कन्यादेवी स्थानः भार्केस तेल्घा, विभिन्न स्थानका मस्जिद र चर्च, महाचैत्य विहार, श्री महाबोधी विहार ः सिल्खानटोल, तानसेन, रैनादेवी मन्दिरः गोखुंगा, भुवनपोखरी, लक्ष्मीनारायण मन्दिरः वसन्तपुरटोल, तानसेन, सिद्धबाबा मन्दिरः दोभान, हनुमान मन्दिरः तानसेन, भैरवस्थान मन्दिरः अमरगन्ज, गणेश मन्दिरः अमरगन्ज, उदडदेवी मन्दिर ः कचल, छत्रमहादेवः ख्याहा, लिपिनदेवीः बन्दीपोखरा प्रमुख रहेका छन् ।

 

पाल्पा अन्य प्राकृतिक मनोरम स्थलले भरिपूर्ण जिल्ला पनि हो । पाल्पामा रहेका गुफा जस्तो, सिद्धपानी गुफा– बौघागुम्हा, हात्तिलेक गुफा– सिलुवा, जुरे गुफा– सहलकाट, सिद्ध ग े ुफा–राम्दी, दर्लमडाँडा, बालसिद्ध गुफा– हेक्लाङ रिडीका गुफाहरू– रुरुक्षेत्र, अर्गली, सिद्धेश्वर गुफा– सिद्धेश्वरले जिल्लाको प्राकृतिक सौन्दर्यको महत्वलाई अझ बढाएका छन् । प्रतापशमशेरले तानसेनमा पाइपद्वारा पानी ल्याउन अन्दाजी ५ सय मिटर लामो सुरुङ निर्माण गरेको मानव निर्मित सुरुङ अर्को दर्शनीय स्थल हो ।

 

पाल्पाका प्रसिद्ध गढीहरूमा कालिका, नुवाकोटगढी, बल्ढेङगढी, बाकुँमगढी, माथागढी रहेका छन् । अन्य

जिल्लाका पर्यटकीय स्थलको यातायात मार्गसँग यी धार्मिक र दर्शनीय स्थललाई जोडेर आन्तरिक र बाह्य (अन्य जिल्लाका) पर्यटक आकर्षित गर्न सक्ने सम्भावना देखिन्छ ।

 

पाल्पामा मनाइने चाडपर्वमा बुद्ध जयन्ती रथयात्रा– वैशाख पूर्णिमा, अमरनारायण जात्रा– भाद्रकृष्ण नवमी ऋषिकेशव रथयात्रा– रिडी÷अर्गली हरिबोधनी एकादशीको भोलिपल्ट, गाईजात्रा, चण्डीपूर्णिमा, भगवतीजात्रा– भाद्रकृष्ण नवमी, भीमसेनजात्रा– भाद्रकृष्ण सप्तमी, बाघरगणेशजात्रा– भाद्रकृष्ण चौथी, मकर संक्रान्तिमा रिडी मेला, रोपाइँजात्रा, श्रीनगर गणेशजात्रा–भाद्रकृष्ण प्रतिपदा, श्रीकृष्ण जन्माअष्टमी, लक्ष्मीनारायणजात्रा कृष्ण द्वादशी, महाशिवरात्रि जात्रा– प्रभास, सत्यवति मेला– कार्तिक पूर्णिमा, फागु पूर्णिमा–मैनादी, भैरवस्थान, खस्यौली, लालपाटी, लाखेजात्रा– जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म विशेषगरी तानसेन, रामपुर, गाँडाकोट, सिलुवा, हुमिन हटिया र विभिन्न नेवारी बस्तीमा र रैनादेवी गोखुंगामा विशेष महत्वका साथ मनाइने गरिन्छ । यी चाडपर्वको ऐतिहासिक महत्वको जगेर्ना गर्दै पर्यटन र व्यावसयिकता वृद्धिमा यिनीहरूको आबद्धता बढाउन सकिन्छ ।

 

पाल्पाको झिनियाँ रोटी, बटुक, हाँसको छोइला, चुकाउनीको स्वाद महत्वपूर्ण मान्ने गरिन्छ । झिनियाँ रोटी, बटुक, हाँसको छोइला, चुकाउनी, करुवा, ढाकाटोपी आदिलाई जिल्लाको पहिचान र ब्रान्डको रूपमा विकास गर्नु आवश्यक छ । यी वस्तुको उत्पादन र वितरणमा पाल्पाबाहिरका अन्य स्थानलाई समेत संलग्न गराउन सकिन्छ ।

 

अवसरमा रूपान्तरण गर्न सकिने पाल्पाका सम्भावनाका क्षेत्रहरु

 

१. पाल्पालाई ५ नम्बर प्रदेशको मात्र होइन, समग्र देशकै नमुना पहाडी पर्यटकीय र धार्मिक स्थलको रूपमा विकास गर्ने ।

 

२. शिक्षा, स्वास्थ्य र पर्यटनको पूर्ण सम्भावना बोकेको यस जिल्लामा प्रादेशिक विश्वविद्यालय, प्रादेशिक शिक्षण अस्पताल र अन्य प्राज्ञिक तथा शैक्षिक उन्नयन केन्द्रको रूपमा विकास गर्ने । धबल पुस्तकालयलाई प्रादेशिक ऐतिहासिक पुस्तकालय तथा अध्ययन–अनुसन्धान केन्द्रको रूपमा रूपान्तरण गर्ने ।

 

३. जिल्लाका पर्यटकीय तथा दर्शनीय स्थलको विकास गर्दै यिनीहरूको पर्यटकीय सम्भावनालाई दिगो बनाउन अन्य जिल्लाका पर्यटकीय स्थलको नेटवर्कमा आबद्ध गर्ने । मुस्ताङ, पोखरा, पाल्पा–भैरहवा– सुनौलीसम्मको सडक मार्गलाई पर्यटकीय तथा आर्थिक विकासका सम्भावनासँग आबद्ध गर्ने ।

 

४. पाल्पा जिल्लामा मगर संस्कृति अध्ययन–अनुसन्धान केन्द्र स्थापना गर्ने । अन्य जातजातिको संस्कृतिको अतिरिक्त मगर संस्कृतिको उत्थान र व्यावसायिकता अभिवृद्धि गर्ने ।

 

५. पहाडी भूबनोटको फाइदा लिन केवलकार, प्याराग्लाइडिङ र टे«किङ रुटका क्षेत्र पहिचान गरी विकास गर्ने । चलचित्र सुटिङको आउटडोरको प्रशस्त सम्भावनाको उपयोग गर्ने र इनडोर सुटिङ सुविधा तथा चलचित्र प्रशोधन सुविधाको विकास गर्ने ।

 

६. सिमेन्टका लागि चाहिने क्लिंकरको उपलब्धता पाल्पामा राम्रो देखिएकाले प्राकृतिक सौन्दर्यमा ह्रास आउने र भूक्षय नहुने गरी सिमेन्ट उद्योगको स्थापना गर्ने ।

 

७. परम्परागत निर्वाहमुखी कृषि उत्पादन प्रणालीका वैकल्पिक सम्भावना खोजी गरी स्थान विशेषका लागि उपयुक्त हुने नयाँ कृषि प्रणालीको विकास गर्ने । जिल्लाको प्रत्येक स्थानीय तहमा एक विशिष्ट उत्पादनको पहिचान कायम गर्ने गरी ‘एक स्थानीय तह एक उत्पादन’ को अवधारणा अगाडि बढाउने । कफी र अदुवा प्रशोधन केन्द्रको विकास गर्ने ।

 

तानसेन, पाल्पा हाल  - काठमाडौँ  )