हिरा विश्वकर्मा  - 

 

आजभन्दा ४० वर्ष अगाडि नै पाल्पाको विकासका लागि शिक्षा, स्वास्थ्य र पर्यटनलाई अगाडि बढाउनुपर्छ भनेर त्यस बेलाका अग्रज स्वर्गीय भुयुमान लिगल, गणेशमान महर्जनलगायतले भन्ने गर्थे । अहिलेको अवस्थामा हेर्दा, शिक्षाको क्षेत्रमा तत्कालिन समयदेखि नै पहाडी जिल्लामा सबैभन्दा बढी साक्षरता भएको जिल्लामा पथ्र्या । नेपालको राजनीति, प्रशासन र न्याय क्षेत्रलाई हेर्दा शिक्षाको क्षेत्रबाट बढी योगदान दिएको देखिन्छ । रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मी दुईजना प्रधानन्यायाधीश भए । पछि खिलराज त मन्त्रिपरिषद्का अध्यक्ष नै भए । राष्ट्रिय योजना आयोगका उपाध्यक्षहरू मोहनमान सैंजु र पृथ्वीराज लिगल पाल्पाली नै हुन् । मुख्य सचिवद्वय (गृहमन्त्रीसमेत) माधव घिमिरे, लीलामणि पौडेल गुल्मीका भए तापनि शिक्षा तानसेनमै भएकोले त्यसमा पनि पाल्पाले गर्व गर्ने ठाउँ छ ।

पाल्पाले बाह्य पर्यटक त पर्याप्त भित्र्याउन सकेन सकेन, आन्तरिक पर्यटक पनि खासै आउन सकेको देखिँदैन । अहिले नेपालको कर्मचारीतन्त्रमा ‘ग्याप्स’ भन्ने शब्द प्रचलनमा रहेछ । त्यसको अर्थ गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जा भन्ने बुझिँदो रहेछ ।
अहिले नेपाल भित्रिने पर्यटकहरूको प्रमुख गन्तव्य भनेको काठमाडौँ उपत्यका, पोखरा र सौराहा हुन् । काठमाडौँ उपत्यका देशको राजधानी हुनुका साथै ऐतिहासिक मठमन्दिरहरू तथा संस्कृति छ । पोखरा ताल र हिमालको संगमले स्थापित प्राकृतिक सुन्दरताले पूर्ण छ । सौराहा जंगल सफारीका साथै दुर्लभ एकसिंगे गैँडाले प्रख्यात छ । तर पाल्पाको पहिचान र त्यसको ब्रान्डिङ के त भन्ने प्रश्न नै महत्वपूर्ण हुन्छ । सानोतिनो रूपमा पाल्पाको तानसेनसँग प्राकृतिक सुन्दरता र ऐतिहासिकता दुइटै छ ।

 

खास गरी श्रीनगर डाँडादेखि अन्नपूर्ण हिमाली शृंखला, सेनवंशीय राजा तथा त्यसपछिका शासक प्रशासकहरूबाट सिर्जित इतिहास र काठमाडौँकै जस्तो कलाकृतिहरू । त्यसको अलावा कुल जनसंख्याको पचास प्रतिशतभन्दा बढी रहेका मगरहरूको रहनसहन तथा संस्कृति । तर यी कुराहरूले बाह्य पर्यटकहरूलाई आकर्षित गरेन र त्यसलाई प्रवद्र्धन गर्ने कोसिस पनि गरिएन । त्यसो हो भने के पाल्पाको पर्यटन विकास सम्भव छैन त भन्ने अहं प्रश्न हाम्रासामु तेर्सिन्छ । अहिलेसम्मको विकासको गतिलाई हेर्दा हामी चुप लागेर बस्यौँ भने यस्तै तरिकाले विकास हुँदै जाला, तर हामीले सुनियोजित तरिकाले अगाडि बढ्यौँ भने त्यसलाई ब्रान्डकै रूपमा पनि विकास गर्न नसकिने होइन ।


पाल्पालाई ब्रान्डका रूपमा विकास गर्ने भनेको यसलाई हिल स्टेसनको रूपमा हो । काठमाडाँै नजिकको नगरकोट र धुलिखेल यसै रूपमा आफूले देशविदेशका पर्यटक आकर्षित गरिरहेको छ । हिल स्टेसनका रूपमा विकास त गर्ने तर पर्यटकहरू कहाँबाट ल्याउने सबैभन्दा ठूलो चुनौती यही हो । अहिले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छ, यसको सञ्चालनपछि त्यहाँ वर्षेनि लाखौँ बौद्धमार्गी पर्यटक आउने अनुमान छ । त्यसको केही प्रतिशत शीतल हावापानी भएको पाल्पाले आकर्षित गर्न सक्छ ।

 

अहिले गैँडाकोटदेखि कोरला नाकासम्म जोड्ने कालीगण्डकी करिडोर सडक पनि निर्माणाधीन छ, यो सडकलाई पाल्पाको रानीघाटमा जोडिन्छ । यो सडक सञ्चालन भएमा त्यहाँबाट मुक्तिनाथ जाने हजारौँ स्वदेशी तथा भारतीय पर्यटकहरूको एक दिने गन्तव्य पाल्पा हुनसक्छ । धेरै ठाउँका हिल स्टेसनहरूको पर्यटक आगमनलाई हेर्दा त्यहाँ टाढाटाढाबाट धेरै संख्यामा पर्यटकहरू गएको देखिदैन । दार्जिलिङलाई हेर्ने हो भने त्यहाँका अधिक पर्यटक कलकत्ता, शिलगुढी तथा आसपासका मैदानी क्षेत्रबाट घुम्न जाने आन्तरिक पर्यटकहरू नै हुन् । तानसेन पाल्पाको सबैभन्दा नजिक रहेको भारतीय सहर गोरखपुर हो, जुन अहिलेको उत्तरप्रदेशको मुख्यमन्त्रीको चुनावी क्षेत्र पनि हो र सो क्षेत्रको सबैभन्दा विकसित सहर पनि । तानसेनबाट गोरखपुरको दूरी गाडीमा चार घन्टा मात्र रहेको छ । गोरखपुर सहरको हालको जनसंख्या साढे ६ लाख रहेको छ भने पूरै गोरखपुर जिल्लाको जनसंख्या साढे ४६ लाख रहेको देखिन्छ ।


अहिले पाल्पाका केही व्यवसायीहरूले वेबसाइटमा दुई–तीन दिनको भ्रमण प्याकेज बनाएको देखिन्छ । त्यसभित्र पहिलो दिन पाल्पा आउने, त्यहाँको स्थानीय बजार घुम्ने, भोलिपल्ट श्रीनगर घुम्ने र फर्किने । तर भारतीय पर्यटकलाई त्यहाँ कम्तीमा पनि तीन दिनसम्म व्यस्त राख्न सकिने थुप्रै कुरा हुन सक्छन् । तानसेनको रमणीय तथा ऐतिहासिक बजार घुमाउने र श्रीनगरबाट हिमशृंखला देखाउने त भइहाल्यो त्यसबाहेक भारतीयहरू धार्मिक पनि भएकाले तानसेनबाट रुरु क्षेत्र रिडीसम्म पु¥याएर कालीगण्डकीको स्नान र बाटोमा एसियाकै सबैभन्दा ठूलो त्रिशूल दाबी गरिएको भैरवको दर्शनसहित फर्काउन सकिन्छ ।

 

रानीघाट दरबारसम्म पुग्ने बाटो राम्रो बनाएर त्यसको नेपालको राणाकालीन इतिहाससँग जोडिएका रोचक कथासहित पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । अझ कालिगण्डकीमा बाँध बाँधेर रिडीसम्मै जम्ने ताल बनाउन सकियो भने स्टोरेज जलविद्युत्का साथै जलपर्यटनलाई पनि बढाउन सकिन्छ, तर यसका लागि ठूलो योजना र लगानीको आवश्यकता पर्छ, हुनत तानसेनको पानीको समस्या समाधान गर्न त्यहाँबाट पानी पम्प गर्ने योजना पनि छ ।


स्थानीय सरकारले पाल्पाको पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी छ । यदि यसो गरिएन भने विगत ४० वर्षमा यहाँका अग्रजहरूले देखेको सपना अधुरै रहनेछ ।