ध्रुब नेपाल   -  
 
आफ्नो परिचय दिँदा नाम बताएपछि ठेगानाको पालो आउँदा म भन्ने गर्छु - मेरो घर पाल्पाको चिदीपानी गाविस हो । यत्ति मात्र होइन, आफ्नो ठेगाना लेख्ने ठाउँमा पनि मैले यही नै लेख्ने गरेको छु, काठमाडौँ भन्ने, लेख्ने गरेको छैन । निकै पातलो गरी घर (चिदीपानी) गएको थाहा पाएका छोराहरू भन्ने गर्छन् (‘बस्नुहुन्छ काठमाडौँमा घर बनाएर, अनि टुरिस्टझैँ कहिलेकाहीँ जाने चिदीपानीको घरलाई नै घर किन भनेको, काठमाडौँको घरलाई किन नभनेको बुबा ?’ म उनीहरूलाई सम्झाउँदै भन्छु (‘म जन्मेको उही, हुर्केको उही, माया उहीको, यहाँ त पेसा र तिमीहरूको व्यवस्था गरिदिन पो बसेको । मेरो मन उही छ त किन भनुँ म काठमाडौँको हुँ ?’ श्रीमती भन्छिन् ‘पाल्पाको व्यवस्थाले नपुगेर काठमाडौँमा घरजम गर्ने, अनि म पाल्पाको पनि कुनो चिदीपानीको हुँ भन्ने । त्यस्तो उतैको माया छ भने त घर नै नबनाएर उतै बस्ने व्यवस्था मिलाएको भए हुन्थ्यो नि ?’ उनलाई पनि मैले घर काठमाडौँ हो नभनेकामा खुसी लागेजस्तो लाग्दैन । तर म भन्छु, ‘मेरो मन मान्दैन चिदीपानीको पानी बिर्सेर आफूलाई काठमाडौँको भन्नु ।’ 
 
मेरो मन बुझेर अचेल श्रीमती र छोराहरूले मेरो मुड ठीक पार्न वा आफूले चाहेको पूरा गर्न मलाई फुस्ल्याउन चिदीपानीको कुरा गर्छन् । हुन पनि चिदीपानीको कुरा गर्न पाए मेरो रिस मर्छ, आनन्द लाग्छ । सानो छोराले त मेरो इन्टरनेटको युजरनेम नै चिदीपानी राखिदिएको छ । अनि बेलाबेला चिदीपानी लेख्ने अक्षर हान्न पाइरहन्छन् मेरा औँला । यति प्रेम सँगालेर राखेको मेरो चिदीपानी कतै नामविहीन त हुने होइन भन्ने शंका उब्जेको छ अचेल । किन यसो भनेको भन्नुहोला । कारण नभई त्यसै भनेको होइन । मेरो चिदीपानी गाविस स्थानीय तहको पुनर्संरचना गर्ने क्रममा अरू ६ गाविससँग मिसिएर माथागढी गाउँपालिका बनेको छ । र, यो बनेको छ वडा नम्बर–१ । पहिले वडाको छुट्टै नाम हुन्नथ्यो, हुन्थ्यो त खालि नम्बर मात्र जसरी अस्पताल भर्ना भएका बिरामीले डाक्टर र नर्सका लागि बिरामीको परिचय बेड नम्बर बन्न पुग्छ । मानिसको परिचय बेड नम्बर भएजस्तो मेरो चिदीपानी पनि कतै वडा नम्बर १ मात्र त बन्ने होइन ? डर लाग्दै छ मलाई यसबेला । 
 
देशभरिमा ७ सय ४४ स्थानीय निकाय बनेको घोषणा भएको थाहा पाउनेबित्तिकै मैले केही नजिकका आफन्तलाई एसएमएस गरेँ, ‘हामी त माथागढी–१ का पो बासिन्दा भएछौँ’ भन्दै । केहीले सही हो भन्दै प्रतिउत्तर दिए । एकजना दाइले लेख्नुभयो, ‘माथागढी १, चिदीपानी, अधमरा वा डुम्रीचौर पो भन्नुपर्ला कि !’ कुरो त अति राम्रो ! तर यसरी पूरानो गाविस पूरा वडामा बदलिएको अवस्थामा पूरानो गाविसले औपचारिक रूपमा नाम पाएन भने मानिसले स्वेच्छिक रूपमा बोलीचालीमा मात्र प्रयोग गरेको आधारमा त चिदीपानीले आप्mनो पहिचान भनुँ वा परिचय जोगाएर राखिरहन नसक्ला कि ? संसारमा कुनै कुरा सित्तैमा पाइन्नन् । केही न केही त तिर्नु नै पर्छ, त्यसैले यो पुनर्संरचनाको पनि मूल्य छ । र, त्यो मूल्य आफू मेटिनु अर्थात् अरूमा विलीन हुनु पो हो कि ? जसरी खहरे खोलामा अनि खोला नदीमा मिसियो । त्यससँगै खहरेको नाम हरायो, खोलाको नाम आयो अनि खोलाको पनि नाम मेटियो र नयाँ नामको नदी बन्यो । त्यसरी नै पूराना गाविस गाभिएर नयाँ गाउँपालिकाको सिर्जना हुँदा पूरानाको नाम मेटिनु नै कतै त्यसकै रूप हुने त होइन ? एकातिर औपचारिक तवरमा पूराना गाविसको पहिचान गुम्ने डर, अर्कातिर अनौपचारिक तवरमा भने मतदाताले पूराना गाविसको धङधङीमा उम्मेदवार छनोट गर्लान् कि भन्ने आशंका ! यो भनेको के भने प्रत्येक गाउँपालिकाका सबै वडाका मतदाताले मत दिएर जिताउनुपर्ने अध्यक्ष र उपाध्यक्षको छनोटमा आप्mनो पूरानो गाविसको उम्मेदवार उठेको छ भने उसलाई भेगीय आधारमा मत दिनु हो । भेगीय आधारमा मतदान हुन सक्ने ठूलो सम्भावना किन छ भने स्थानीय तहले मूलतः विकास, निर्माण र जनताका दैनन्दिन समस्या सुल्झाउन भूमिका खेल्ने हो । त्यसकारण जनताको चाहना हुन्छ, जनप्रतिनिधि आप्mनो नजिकको र चिनजानका होऊन् । 
 
माथागढीमा चिदीपानीलगायत रुप्से, कसेनी, झडेवा, गोठादी, रहबास अनि बहादुरपुर मिसिएको छ । यो २ सय १५ वर्गकिलोमिटरको पाल्पाकै सबैभन्दा ठूलो स्थानीय तह बनेको छ । टाढाको देवताभन्दा नजिकको दैव ठीक भनेझैँ कहिल्यै नदेखेको, नभेटेको टाढाका आप्mनो दल निकटको उम्मेदवारभन्दा आप्mनो गाउँठाउँको परिचित उम्मेदवार अर्को दलको नै भए पनि छनोट गर्नु ठीक हो मतदाताले ठान्लान कि जस्तो लाग्छ । आखिर मानिस इतिहासबाट मुक्त हुँदैन, त्यसैले त डच उपनिवेश बनेको इन्डोनेसिया र पोर्चुगल उपनिवेश बनेको पूर्वी टिमोर सँगै बस्न नसकेर छुट्टै देश बने । त्यसरी नै पूरानो गाविसको धङधङी रहिरहन सक्छ । यो मानवीय स्वभावअनुसार नै त हुने कुरा हो नि ! यसो भएन भने पैसाले पनि चुनावमा भूमिका खेल्ला कि ! कारण नचिनेका उम्मेदवार छन् भने चिन्ने अनि मत हाल्ने आधार पैसा बन्न पनि के बेर ! जसरी बादलको बुट्टालाई आफूखुसी व्याख्या गर्न पाइन्छ किनकि यो यस्तै हो भन्ने कोही हुन्न । त्यसैगरी भर्खर घोषित स्थानीय तह कस्तो होला, कसरी होला भन्ने केही भन्न नसकिने बेलामा अनुमान गर्नु पनि राम्रै हो भनी अनुमान गरेको हो मैल । 
 
मैले अनुमान र आशंका गरेका कुरा, डर मानेका कुरा मिल्दाभन्दा नमिल्दा नै खुसी लाग्नेछ । कहिलेकाहीँ आफू हार्दा पनि खुसी लाग्ने हुन्छ भनेको यही होला । तर मेरो चिदीपानीको पहिचान हराउनु हुन्न है । यो नाम मजस्तै धेरैको मनमा गडेको छ, कहिल्यै नमेटिने गरी ।
 
१० चैत, २०७३